बलिउडमा आफ्नो चुलबुलेपनका लागि चर्चित अभिनेत्री जूही चावलाले आमिर खानलाई बाहिरी रुपले सोझो देखिए पनि भित्री रुपमा शैतान सरह रहेको आरोप लगाएकी छन् । जुहीले ९० को दशकमा आमिर खान र शाहरुख खानका साथ धेरै हिट फिल्म दिएकी छन् । आफ्नो पछिल्लो फिल्म ‘चक एण्ड डस्टर’को प्रमोसनमा व्यस्त उनले आमिर र शाहरुखसँग सुटिङमा भएको सम्झनालाई मिडियामार्फत सार्वजनिक गरेकी छन् ।
‘कयामत से कयामत तक’मा आमिरसँग काम गरेकी जुहीले भनेकी छन्,‘आमिर खान माथिबाट हेर्दा सोझो भए पनि उनी सैतान जस्ता छन् ।’ उनले सन् १९९० मा रिलिज भएको फिल्म ‘तुम मेरे हो’ को सुटिङको समय स्मरण गर्दै भनिन्,‘मलाई सर्पदेखि निकै डरलाग्छ र एक सुटिङको बेला मलाई डराउनका लागि आमिर मेरो पछाडि सर्प लिएर दौडिएका थिए । आमिर र शाहरुख दुवै स्वभावका कारण अलग छन् तर दुवैजना बुद्धिमान छन् ।’