२७ कात्तिक
इरान र उत्तरी इराकको सीमा क्षेत्रमा गएको भूकम्पमा परी ६५ जनाको मृत्यु भएको छ ।अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार मृत्यु हुनेको संख्या अझै बढ्ने बताइएको छ भने २ सय भन्दा बढी घाइते भएका छन् ।
घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।
आइतबार राति इराकको कुर्द शहर हालब्जा नजिकै केन्द्रविन्दु बनाएर ७.३ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्प गएसँगै मानिसहरु अत्तालिएर घरबाट बाहिर सडकमा निस्किरहेका छन्।
इराकको राजधानी बग्दादस्थित ठूला स्पीकरहरु राखेर प्रार्थना भइरहेका छन्।
इरानी समाचार संस्था आइआरआइएनएनले उद्धार टोलीलाई देशको पश्चिमी भागतिर तैनाथ गरिएको जनाएको छ ।
इरानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमले कम्तीमा पनि ८ वटा गाउँहरुमा क्षति भएको खबरहरु आएको बताएका छन् ।
अन्य गाउँहरुमा विजुली आपूर्ति बन्द भएको छ भने त्यहाँको सञ्चार सेवा पनि अवरुद्ध भएको छ ।