सर्वहारा कम्युनिस्ट पार्टी(माओवादी)का अध्यक्ष भावना विद्रोहीले सत्यनिरुण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा आफ्नो उजुरी दर्ता गर्नुभएको छ । तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको दशवर्षीय जनयुद्धमा विसं २०५४ देखि सामेल भई सरकारविरुद्ध जनयुद्ध लड्नुभएका विद्रोहीले आफूलाई राज्य पक्षबाट चरम शारीरिक र मानसिक यातना दिएको आरोप लगाउँदै न्याय दिलाइदिन माग गरी ती आयोगमा उजुरी गर्नुभएको हो ।
विसं २०५८ देखि ०६२ सम्म नेपाली सेना र नेपाल प्रहरीबाट पटक पटक बेपत्ता पारेको र पाशविक र मानसिक यातना खेप्नुपरेको उहाँले बताउनुभयो । आफू संलग्न भएको पार्टी शान्ति प्रक्रियामा आएपछि विचलनको बाटामा हिँडेको जनाउँदै विद्रोहीले २०६७ मा नयाँ पार्टी खोलेर त्यसको नेतृत्व गरिरहनुभएको छ । रासस