मोडल सिम्पल खनालले दोस्रो बिहे गरेकी छिन्। म्युजिक भिडियो निर्देशक प्रसन्न पौडेलसँगको वैवाहिक सम्बन्ध टुटेपछि एक्लिएकी सिम्पलले आइतवार राजधानीको हायात होटलमा दोस्रोपटक सुटुक्क बिहे गरेकी हुन्।

बेलायतमा व्यवसाय गर्दै आएका भारतीय मूलका नदिनसँग उनले लगनगाँठो कसेकी हुन्। मोडल नम्रता सापकोटाले आफ्नो फेसबुकमा ‘कन्ग्राचुलेसन्स माई लभ’ भन्दै उनीहरूको बिहेको फोटो सार्वजनिक गरेकी थिइन्। बुझिएअनुसार सिम्पलले यो बिहेलाई गोप्य नै राख्न खोजेकी थिइन्।
बिहेमा आफन्त र नजिकका साथीभाइमात्र बोलाइएका थिए। दर्जनभन्दा बढी म्युजिक भिडियो र विज्ञापनमा मोडलिङ गरिसकेकी सिम्पल भीजेका रूपमा पनि चिनिएकी छिन्। थुप्रै हिरोइनझैँ विदेशीसँगै लगनगाँठो कसेकी सिम्पलको करिअर पनि अब बेलायततिर लम्किने नै हो कि ? मनोरञ्जन वृत्तमा प्रश्न उब्जिएको छ। सिम्पलले छ वर्षअघि प्रसन्नसँग बिहे गरेकी थिइन् । बिहे गरेको दुई वर्षमै उनीहरूले डिभोर्स गरेका थिए।