बर्लिन/ कतारले विश्वकप फुटबल आयोजना गर्ने जिम्मेवारी लिन आर्थिक चलखेल गरेको दाबीसहितको एक प्रतिवेदन सार्वजनिक भएको छजर्मनीको ‘बिल्ड’ नामक पत्रिकाले सन् २०२२ को विश्वकप आयोजक राष्ट्र छनोटका क्रममा आर्थिक चलखेल भएको प्रमाणसहितको प्रतिवेदन आफ्नो हात लागेको दाबी गरेको छ ।
विश्व फुटबल महासंघ (फिफा)का पूर्व छानविनकर्ता माईकल गार्सियाले तयार पारेको भनिएको गोप्य प्रतिवेदन जर्मन पत्रिकाले सार्वजनिक गरेको हो ।
फिफामा भएको भ्रष्टाचारबारे छानविन गर्ने जिम्मेवारी पाएका अमेरिकी वकिल गार्सियाले नेतृत्वसँग असहमति जनाउँदै सन् २०१४ मा राजीनामा दिएका थिए । जर्मन पत्रिकाले दाबी गरेअनुसार कतारलाई विश्वकप फुटबल आयोजना गर्न दिँदा भएको मतदानपूर्व कतारी अधिकारीहरुले फिफा पदाधिकारीलाई घुस दिएका थिए ।
फिफाका एक उच्च अधिकारीकी छोरीलाई कतारी अफिसियलहरुले २० लाख अमेरिकी डलर घुस दिएको जिकिर प्रतिवेदनमा गरिएको छ ।
पछिल्लो समाचारले विश्वकप फुटबल आयोजना गर्ने कतारको योजनालाई नोक्सानी पु¥याउने अनुमान गरिएको छ । कतारले विश्वकप आयोजनाको जिम्मेवारी पाएदेखि नै केही युरोपियन तथा अमेरिकी देशहरुले विरोध गरिरहेका छन् ।
पछिल्लो पटक खाडी मुलुकहरुसँग कतारको सम्बन्ध बिग्रनुलाई पनि यसैको एउटा राजनीतिको रुपमा समेत ब्याख्या गरिएको छ ।