आश तमु पोखरा । कास्कीका दृष्टिविहीन तथा अपाङ्गहरुलाई उद्यमशील बनाउन पोखरामा उज्यालो बजार सञ्चालन गरिने भएको छ ।
बजारमा दैनिक उपभोग्य बस्तुहरु जस्तै खाद्यान्न, तरकारी, फलफुल, दूध, मासु, चमेना तथा फेन्सी सामानहरु विक्रीका लागि राखिने छ ।बजार सञ्चालनका लागि ३० वटा सटर भाडामा लिइएको र २१ जना दृष्टिविहीन उद्यमशीलताका लागि छनौट गरिएको सिद्धार्थ मिनिमार्केटका अध्यक्ष पार्वतीकुमारी शर्माले विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । बजार पोखराको सिद्धार्थचोकस्थित सिद्धार्थ मिनिमार्केटमा साउन १ गतेदेखि सञ्चालनमा आउने छ।
ब्यबसाय सञ्चालनका लागि केही रकम अनुदान, केही सहुलियत ऋण र ३ महिना सटर भाडा निःशुल्क गरिने कास्की नेत्रहीन संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।
पसल सञ्चालनमा घर परिवारले सहयोग गर्नसक्ने बताउँदै उनले दृष्टिविहिनले २५ हजार भने आफूले पनि तिर्नुपर्ने स्पष्ट पारे । त्यो रकम जिम्मेबारी बोधका लागि मात्र तिर्नुपर्ने ब्यबस्था गरिएको उनको भनाइ छ ।
उनका अनुसार पसल सञ्चालनका लागि आवश्यक सामानहरु उधारो ल्याउने ब्यबस्था पनि मिलाइनेछ । ब्यबसाय सञ्चालनबाट आएको नाफाबाट दृष्टिविहिन ब्यबसायीले ऋण तिर्दै जानुपर्ने र सो रकम अन्य दृष्टिविहिन्को लागि लगानी गरिने उनले बताए ।
उनले उज्यालो अभियानले दृष्टिविहिन् तथा अपाङ्गताका लागि साँच्चिकै उज्यालो ल्याउने विश्वास व्यक्त गरे । उज्यालो बजार सञ्चालनका लागि उज्यालो प्रतिष्ठान गठन गरिएको छ । सो प्रतिष्ठानले बजार सञ्चालनका लागि आवश्यक खर्च ब्यबस्थापन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
केही सहयोग दिएर जिम्मेबारीबाट पन्छिनुभन्दा सीप दिएर आत्मनिर्भर बनाउन आफूहरुले पहल गरेको बताउँदै उनले भनिन्,’हामीले माछा मारेर दिने हैन, माछा मार्न नै सिकाउने उद्धेश्यले अभियान सञ्चालन गरेका हौं, यसका लागि सबैले सहयोग गर्नुपर्छ ।
२०६८ को जनगणना अनुसार कास्कीमा ९५ हजार दृष्टिविहिन् रहेका छन् । कास्कीमा भने १ हजार ४ सय ४५ जना दृष्टिविहिन रहेका छन् ।