आर्थिक अभावका कारण नवजात जुम्ल्याहा सन्तान अस्पतालमै छाडेर भागे दिनबहादुर

आर्थिक अभावका कारण नवजात जुम्ल्याहा सन्तान अस्पतालमै छाडेर भागे दिनबहादुर


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ असार २०७४
  • 8.3K
    Shares

तुलसीपुर, सुत्केरी लगत्तै ४१ वर्षीय पातली रोकाको मृत्यु भयो । सुत्केरी श्रीमतीको मृत्यु भएपछि पातलीका श्रीमान् दिनबहादुरले जुम्ल्याहा नवजात शिशु अस्पतालमै छाडेर हिंडेपछि उनीहरु विचल्लीमा परेका छन् । राप्ती गाउँपालीका वडा नं ९ घोषखोला निवासी ४१ वर्षीय पातली रोकाको सुत्केरी भएको केही घन्टामा मृत्यु भएको थियो।

घरमै जुम्ल्याहा सन्तान जन्माएकी पातलीको रक्तश्राव नरोकिएपछि लमही अस्पताल पुर्‍याइएको थियो । तर, अस्पताल पुर्‍याउन ढिलो गरिएका कारण आमाको ज्यान जोगाउन नसकिएको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा ईश्वरी खनाल अत्याधिक रक्तश्रावका कारण आमाको मृत्यु भएको प्रारम्भिक जाँचमा देखिएको बताउँछन्।

अस्पतालले बुटवल वा नेपालगञ्ज लगेर एनआईसियूमा राखेर शिशुको थप उपचार गर्नुपर्ने बताएपछि बाबु दिनबहादुर र उनीसँगै आएका आफन्त सम्पर्क विहीन भएको डा खनालले बताए । ‘आफूसँग उपचार गर्ने पैसा नभएकाले बच्चा घर लैजाने भन्नुभएको थियो तर उपचार नगरे ती शिशु बाँच्नै अवस्था छैन । त्यसैले उपचार गर्ने रकमको जोहो नगरुन्जेल यही अस्पतालमै उपचार गरिराख्छौं भनेर पठायौं । उहाँहरु हिजोदेखि सम्पर्कमै आउनुभएन,’ डा खनालले भने ।

अस्पतालमा एनआईसियू नभएका कारण अर्को अस्पतालमा पुग्ने खर्चसहित रिफर गर्न खोजिएपनि उपचार गर्न नसक्ने भन्दै ती शिशुका बाबुले अस्वीकार गरेका थिए। लमही अस्पतालमा उपचार गरिरहेका बेला शिशुको अवस्था थप जोखिमपूर्ण भएपछि नजिकैको तुलसीपुर बाल अस्पतालमा पुर्‍याएर उपचार थालिएको छ।

आफन्त सम्पर्कमा नआएपछि निजी बाल अस्पतालमा पनि उपचारका लागि समस्या हुने डा खनाल बताउँछन्। उनी भन्छन्, ‘कतैबाट आर्थिक सहयोग जुट्यो भने शिशुको ज्यान जोगाउन सकिन्थ्यो।’ उनीहरुको उपचारमा सघाउनका पनि डा खनालले आग्रह गरेका छन् । सहयोगी हातहरुले लमही अस्पताल तुलसीपुर बाल अस्पताल र डा खनाललाइ सम्पर्क गर्न सक्नेछन्। तुलसीपुर बाल अस्पतालका बालरोग विशेषज्ञ डा किशोर खत्रीले ती शिशुको उपचार गरिरहेका छन् ।

मजदुरी गरेर जिविकोपार्जन गरिरहेका दिनबहादुरले शिशुको उपचारका लागि रकमको जोहो गर्न नसक्न देखेपछि सम्पर्क विहीन भएको हुनसक्ने अनुमान गरिएको छ । यसबारे जिल्ला प्रशासन कार्यलाई जानकारी गराइसकिएको छ ।

दिनबहादुरलाई चिन्नेका अनुसार उनको घरमा २१ वर्षका अपाङ्गता भएका छोरा रोमबहादुर, अर्की अपाङ्गता भएकी १३ वर्षकी छोरी चुमा छिन्। यसैगरी अर्का एक ९ वर्षीय छोरा पनि छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार