आमाबाबु आँसुको भेलमा, छोरो साउदी जेलमा

आमाबाबु आँसुको भेलमा, छोरो साउदी जेलमा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३१ जेष्ठ २०७४
  • 12.9K
    Shares

चितवन : खैरहनी नगरपालिका- ६ मझुईकी ५० वर्षीया शान्ति कार्कीका आँखा ओभानो छैन । छोरो साउदी अरबको जेलमा परेको खबर सुनेदेखि उहाँ चिन्तामा हुनुहुन्छ । २७ वर्षीय कान्छो छोरो उपेन्द्र साउदीको जेलमा छन् । सवारी दुर्घटनामा उनलाई दोषी ठहर गरी अदालतले क्षतिपूर्ति तोकेको र रकम बुझाउन नसक्दा जेलमा रहेको खबर उपेन्द्रका साथीले परिवारलाई गरेका थिए । मुटुको रोगी भएकाले आमालाई भने  खबर सुनाइएको थिएन।अन्नपुर्ण पोष्टले लेखेको छ।

आर्थिक स्थिति कमजोर भएपछि उपेन्द्र रोजगारीका लागि विदेश गएका हुन् । ‘छोरो साउदीको जेलमा परेको खबर पाउँदा आमाको मन के भएको होला भन्ने त मलाई नै थाहा छ’, शान्तिले भन्नुभयो, ‘ दिनभरि काम गर्दा थकाइ लाग्छ, छोरोको याद आएर रातभरि निन्द्रा लाग्दैन ।’ उहाँले छोरो फर्काउन पहल गरिदिन आग्रह गर्नुभएको छ ।

उपेन्द्रका बुबा ५७ वर्षीय सन्तोषबहादुर कार्कीको पनि रोएरै दिन कट्ने गरेको छ । पटकपटक बोलाउँदा पनि ऋण तिरेपछि आउँछु भन्ने गरेको उहाँले सुनाउनुभयो । ‘छोरो जेल पर्‍यो भन्ने सुन्दा आकाशमा बिजुली चम्केर चट्याङ परेजस्तै भयो’, कार्कीले रुँदै भन्नुभयो, ‘खाने बस्नको ठेगान छैन । रातभरि निन्द्रा लाग्दैन ।’ दुबई गएको जेठो छोराले कमाउन थालेपछि वास्ता गर्न छोडेको दुखेसो उहाँको छ ।

कार्कीले बैंकमा ऋण लिएर घर बनाउनुभएको हो । दुई वर्षअघि उपेन्द्रको दुर्घटना भएको थियो । सात वर्षअघि साउदी पुगेका उपेन्द्र एकपटक पनि घर फर्किएका छैनन् । साथीको सहयोगबाट जेलमा रहेका छोरासँग दुई मिनेट मात्र बोल्न पाएको बताउँदा उपेन्द्रका बुबाको भक्काने फुट्यो । ‘बाबुले त्यहाँ बसेर कति दुःख पायो होला, आफूले देख्न पाएको छैन’, सन्तोषले रुँदै भन्नुभयो, ‘सबैको सहयोगबाट छोरा घर आउँछ भन्ने आशामा छु ।’

उपेन्द्र साउदीको हाइलस्थित इतियाज कम्पनीमा गाडी चलाउने काम गर्थे । मुख्य राजमार्गमा सवारी चलाउने क्रममा विपरीत दिशामा जान लाग्दा पछाडिबाट तीव्र गतिमा आएको गाडीले ठक्कर दिएको थियो । उक्त घटनामा उपेन्द्रको दोष बढी देखाइएपछि उनी जेल परेका हुन् । घटनामा एक बंगलादेशीसहित साउदी नागरिक घाइते भएका छन् । क्षतिपूर्ति स्वरूप तीन लाख ३३ हजार ५ सय रियल (९५ लाख रुपैयाँ) जरिवाना तोकिएको छ । गाउँमा उपेन्द्र बचाउ अभियान पनि थालिएको थियो । गाउँलेहरू समूह बनाएर सहयोग जुटाउन लागि परेका थिए ।

चितवन युवा समूहको अन्तर्राष्ट्रिय समन्वय परिषद्ले पनि चासो देखाएको छ । ‘ पैसा तिर्न नसकेर जेलमा बस्नुपरेको हो भने परिषद् सहयोग संलकन गरेर सहयोग जुटाउन तयार छ’, चितवन युवा समूह कतारका अध्यक्ष भूमिराज कार्कीले भन्नुभयो, ‘समन्वय परिषद्मा कुरा भएको छ । पैसा अभावले रोकिएको हो र नेपाली दूतावासको आधिकारिक खबर आए तत्काल काम थाल्छौं ।’

प्रतिक्रिया