जापानी सम्राट अकिहितोलाई राजगद्दी त्याग गर्न सहज हुने गरी जापानी संसद्ले एक नयाँ कानुन पारित गरेको छ । कानुन पारित भएसँगै युवराज नारु हितोलाई राजगद्दीको उत्तराधिकारी बन्ने बाटो खुलेको छ । यसअघि जापानमा आफू जीबित छँदै सम्राटले आफ्ना उत्तराधिकारीलाई गद्दी सुम्पन पाउने कानुन थिएन । जापानी राजगद्दीको करिब दुई सय वर्ष पुरानो इतिहासमा पहिलोपटक राजगद्दी उत्तराधिकारीसम्बन्धी नयाँ कानुन बनेको हो ।
कानुन लागू भएको मितिले तीन वर्षभित्र वृद्ध सम्राटले गद्दी परित्याग गरी युवराज नारु हितोलाई सुम्पिइसक्नु पर्ने प्रावधान पारित कानुनमा उल्लेख छ । आगामी सन् २०१८ को डिसेम्बर महिनामा ८५औँ शुभजन्मोत्सवको अवसरमा सम्राटले युवराज नारु हितोलाई राजगद्दी हस्तान्तरण गर्न सक्ने जापानी सञ्चार माध्यमहरूले अनुमान गरेका छन् । गत वर्षको अगस्टमा सम्राटले राजगद्दी परित्याग गरी आफ्ना पुत्रलाई सुम्पने इच्छा प्रकट गरेको एक भिडियो सार्वजनिक भएको थियो ।