मुगु, २४ कात्तिक २०८३।
मुगुमा भैलो टोली बोकेको बोलेरो जिप दुर्घटनाग्रस्त हुँदा पाँच जना घाइते भएका छन्।
सोरुकोटबाट भैलो खेल्ने टोली लिएर तारापानीतर्फ जाँदै गरेको बा १८ च ४१८ नम्बरको बोलेरो जिप मंगलबार दिउँसो करिब १२ः५० बजे सोरु गाउँपालिका–६ गजेडीस्थित झ्यालेखोलाको भित्री कच्ची सडकखण्डमा अचानक ब्रेक फेल भएपछि सडकको भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा पाँच जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय मुगुले दिएको जानकारी अनुसार , दुर्घटनाका बेला जिपमा चालकसहित १२ जना सवार थिए। ती मध्ये पाँच जना घाइते भएका हुन्।
दुर्घटनामा सोरु गाउँपालिका–९ कालैका १९ वर्षीय गणेश ऐडी गम्भीर घाइते भएका छन्। उनको टाउको र निधारमा गहिरो चोट लागेको छ। त्यस्तै, जिप चालक मुगुको खत्याड गाउँपालिका–७ निवासी २९ वर्षीय उपेन्द्र परियारको दायाँ हात र बायाँ खुट्टामा चोट लागेको छ।
यसैगरी सोरु गाउँपालिका–९ कालैकी १६ वर्षीया निर्मला ऐडीको कुम र छातीमा, १७ वर्षीया करिस्मा ऐडीको कम्मर र छातीमा तथा १९ वर्षीय अन्तिम योगीको टाउको र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविराज थपलियाका अनुसार घाइते पाँचै जनालाई तत्काल उद्धार गरी उपचारका लागि सोरु गाउँपालिका–६ सिपस्थित जिमा स्वास्थ्य चौकी पठाइएको थियो।
प्रहरी चौकी सोरुबर्माबाट प्रहरी नायब निरीक्षक देवबहादुर खड्काको नेतृत्वमा खटिएको छ सदस्यीय प्रहरी टोलीले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालकसँग सवारी चालक अनुमतिपत्र रहेको र उनले मादक पदार्थ सेवन नगरेको पाइएको छ। दुर्घटनाग्रस्त जिप घटनास्थलमै रहे पनि सडकमा यातायात आवागमन अवरुद्ध नभएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।