पोखरा, २४ कार्तिक २०८३।
लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत प्रहरी सहायक हवल्दार अर्जुन गुरुङ मकवानपुरमा मृत भेटिएका छन्।
गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भएका प्रहरी सहायक हवल्दार गुरुङ आज बिहान मकवानपुरमा मृत भेटिएका हुन्।
प्रहरीका अनुसार , मंगलबार बिहान करिब ४ः३० बजे हेटौँडा उपमहानगरपालिका–८ ओमनगर गेट अगाडि रहेको एक घरनजिकै उनी झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्। बिहान हिँड्न निस्किएका एक व्यक्तिले देखेपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनास्थलबाट एउटा नोटसमेत फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए। तर नोटमा उल्लेख भएका विषयबारे विवरण सार्वजनिक गरिएको छैन।
लमजुङमा कार्यरत प्रहरी कर्मचारी मकवानपुरमा किन र कसरी पुगे, र मृत्युको कारण के हो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खत्रीले जानकारी दिए।