कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ जेष्ठ २०७४
  • 9.3K
    Shares

२३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । गणतान्त्रिक नेपालको उनी नवौ प्रधानमन्त्री हुन् । देउवा प्रधानमन्त्री बनेको यो चौथोपटक हो ।

मंगलबारको संसद बैठकमा उपस्थित कुल ५५८ सांसदहरुमध्ये देउवाको पक्षमा ३८८ र विपक्षमा १७० मत परेको थियो ।

देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका थिए भने कांग्रेस नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायतले समर्थन गरेका थिए ।

नियम ४९ को उपनियम ५ बमोजिम सभामुखले उनको उम्मेदवारीलाई बैठकसमक्ष निर्णयार्थ प्रस्तुत गरेकी थिइन् ।

एउटा मात्र उम्मेदवारी दर्ता भएकोले उपनियम ७ आकर्षित भएकाले संसदको निर्णय मतविभाजनबाट हुनुअघि सभामुखले संसदबाहिर रहेका सांसदलाई संसद भित्र आउनका लागि तीन मिनेटको जनाउ घण्टी बजाउन लगाएकी थिइन् ।

देउवाको पक्षमा हुन्छ र हुन्न भन्ने सांसदहरुलाई भिन्नाभिन्नै ढोकाबाट उपकक्ष (लबी) मा प्रवेश गराएर त्यहाँ राखिएको क्रमसंख्या अनुसारको नाममा सांसदहरुले आफ्नो मत जाहेर गरेका थिए । संकलित मतगणनाको परिणाम सभामुखले तत्काल सुनाउदै देउवा औपचारिक रुपमा प्रधानमन्त्री निर्वाचित भएको घोषणा गरिएको थियो ।

देउवा चौथो पटक मुलुकको ४० औ प्रधानमन्त्री बनेका हुन् । संसदको ठूलो दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले यसअघि तीनपटक प्रधानमन्त्रीको जिम्मेवारी निभाइसकेका छन् ।

पछिल्लो पटक देउवा २९ जेठ २०६१ मा प्रधानमन्त्री भएका थिए तर ८ महिनापछि तत्कालिन राजा ज्ञानेन्द्र शाहले १९ माघ २०६१ मा हटाउँदै सत्ता आफ्नो हातमा लिएका थिए । यस्तै १५ महिना अघि देउवा कांग्रेसको तत्कालिन संस्थापन पक्षलाई हराउँदै पार्टी सभापति भएका थिए । सुशील कोइरालाको निधनपछि भएको पार्टी संसदीय दलको चुनावमा उनी दलको नेता चुनिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार