ताप्लेजुङ,२२ भदौ २०८३।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकास्थित मैवाखोलामा ट्रयाक्टर दुर्घटनापछि बेपत्ता भएका भनिएका दुवै जना सकुशल सम्पर्कमा आएका छन् ।
सोमबार बिहान ट्रयाक्टर दुर्घटनामा परेपछि खोलाले बगाएर बेपत्ता भएको आशंका गरिएका ट्रयाक्टर चालक समिर बराइली र सवार अनिल नाल्वो सकुशल सम्पर्कमा आएका हुन् ।
प्रहरीका अनुसार , सोमबार बिहान करिब २ः४० बजे आठराई त्रिवेणी र मेरिङदेन गाउँपालिका जोड्ने सडकखण्डमा हाङपाङबाट गोलिया (काठ) लिएर दोभानतर्फ आउँदै गरेको ट्रयाक्टर मैवाखोलाको पुल नजिकैबाट करिब १५ मिटर तल खसेर दुर्घटनामा परेको थियो ।
ट्रयाक्टर खोलामा खसेपछि त्यसमा सवार चालक बराइली र नाल्वोलाई खोलाले बगाएको हुनसक्ने आशंका गरिएको थियो । दुर्घटनापछि उनीहरू सम्पर्कविहीन बनेकाले प्रहरीले खोजीसमेत थालेको थियो । तर, केही समयपछि दुवै जना सकुशल सम्पर्कमा आएपछि खोजी तथा उद्धारमा जुटेको टोलीले राहत महसुस गरेको छ ।
दुर्घटनाबारे सोही ट्रयाक्टरमा सवार १४ वर्षीय समिर नाल्वोले प्रहरीलाई जानकारी गराएका थिए । दुर्घटनाको थप विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।