चोरीका गरगहना खरिद गरेको आरोपमा सर्लाहीबाट ज्वेलर्स सञ्चालक पक्राउ

चोरीका गरगहना खरिद गरेको आरोपमा सर्लाहीबाट ज्वेलर्स सञ्चालक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ भाद्र २०८३
  • 817
    Shares

सर्लाही,२२ भदौ २०८३।

चोरीका गरगहना खरिद गरेको आरोपमा सर्लाहीबाट एक जना ज्वेलर्स सञ्चालक पक्राउ परेका छन्।

सर्लाहीको पर्सा गाउँपालिका–२, संग्रामपुरस्थित मौजे ज्वेलर्सका सञ्चालक विश्वनाथ साह सोनार चोरीका गरगहना खरिद गरेको आरोपमा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार चोरीको घटनामा पक्राउ परेका एक व्यक्तिले दिएको बयानका आधारमा अनुसन्धान अघि बढाउने क्रममा साहलाई शनिबार दिउँसो पक्राउ गरिएको हो ।

प्रहरीले चोरी गरी ल्याइएका गरगहना खरिद गरेको आशंकामा साहमाथि अनुसन्धान गरिरहेको जनाएको छ । अनुसन्धानका क्रममा प्रहरीले चोरीका भनिएका केही गरगहनासमेत बरामद गरेको जनाएको छ ।

स्थानीयवासीले भने साहले विगत करिब १० वर्षदेखि स्थानीय क्षेत्र तथा भारतीय सीमावर्ती क्षेत्रबाट चोरी गरी ल्याइएका गरगहना कम मूल्यमा खरिद गर्दै आएको आरोप लगाउँदै आएका छन् । यस्तो कारोबारबाट उनले ठूलो परिमाणमा सम्पत्ति आर्जन गरेको स्थानीयको दाबी छ । यद्यपि, स्थानीयवासीले लगाएका यी आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

प्रहरीले बरामद गरगहनाको पहिचान तथा घटनासँग सम्बन्धित थप तथ्य संकलनको काम अघि बढाएको जनाएको छ । चोरी भएका गरगहना आफ्नो भएको दाबी गर्ने पीडितलाई प्रहरीसमक्ष जाहेरी दिनसमेत आग्रह गरिएको छ ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया