ताप्लेजुङ,२२ भदौ २०८३।
ताप्लेजुङको मैवाखोलामा ट्याक्टर खस्दा दुई जना बेपत्ता भएका छन्।
आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट गोलिया (काठ) बोकेर अरुण भेनियरतर्फ जाँदै गरेको र हाल नम्बर नखुलेको ट्याक्टर आज बिहान करिब २ः४० बजे मैवाखोलाको पुलको छेउबाट करिब १५ मिटर तल खस्दा सो ट्याक्टरमा असवार दुई जना खोलाले बगाएर बेपत्ता भएका हुन्। .
प्रहरीका अनुसार , १५ मिटर तल खोलामा खसेको ट्याक्टरलाई खोलाले घटनास्थलबाट करिब २० मिटर तल बगरमा पुर्याएको थियो भने ट्याक्टर चालक समिर बराइली र ट्याक्टरमा सवार अनिल नाल्वोलाई खोलाले बगाएर बेपत्ता बनाएको छ। दुर्घटनामा परेका १४ वर्षीय समिर नाल्वो भने बाँच्न सफल भएका छन्।
प्रहरीले ट्याक्टर फेला पारे पनि बेपत्ता दुई जनाको अवस्था अझै अज्ञात रहेको जनाएको छ। उनीहरूको खोजी तथा घटनाको अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको छ।
वर्षाका कारण मैवाखोलामा पानीको बहाव बढेकाले खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।