चितवन,२२ भदौ २०८३।
तुइन खोलामा पहिरो रोकथाम तथा व्यवस्थापनको काम गर्नुपर्ने भएपछि नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि आंशिक रूपमा बन्द गरिने भएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको सूचनाअनुसार कृष्णभीरमा भइरहेको सडक मर्मत कार्य सम्पन्न भएर सवारी आवागमन नियमित नहुँदासम्म तुइन खोला क्षेत्रमा पहिरो व्यवस्थापनको काम गरिनेछ।
सडक मर्मतका क्रममा सवारी आवागमन प्रभावित भएकै समयमा तुइन खोलाको पहिरो जोखिमयुक्त माथिल्लो भागको माटो तथा झर्न सक्ने ढुंगा–माटो हटाउने काम गर्न लागिएको हो। तुइन खोलामा पटक–पटक पहिरो खस्ने भएकाले सम्भावित जोखिमयुक्त भागलाई योजनाबद्ध रूपमा झारेर पहिरो व्यवस्थापन गर्न लागिएको प्रशासनले जनाएको छ।
कामका क्रममा सडकमा सवारी आवागमन पूर्ण रूपमा रोकिराख्ने नभई निश्चित समयमा खुला गरिनेछ। सूचनाअनुसार बिहान ८ बजेदेखि ८ः३० बजेसम्म, १०ः३० देखि ११ बजेसम्म, दिउँसो १ बजेदेखि १ः३० बजेसम्म, ३ः५० देखि ४ बजेसम्म र साँझ ६ बजेपछि सवारी सञ्चालन गर्न दिइनेछ।
यी समयबाहेक भने तुइन खोला क्षेत्रमा सवारीसाधन रोकेर पहिरो व्यवस्थापन तथा माटो कटानको काम गरिने प्रशासनले जनाएको छ।