पोखरा, २२ भाद्र २०८३ ।
पोखराको पृथ्वीचोकबाट ठुलो मात्रामा अबैध लागु औषधसहित दुई जना भारतीय पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका–९, पृथ्वीचोकबाट ठुलो मात्रामा लागूऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश, महाराजगञ्ज, पडारीका २४ वर्षीय आलम परवेज र २१ वर्षीय हुसेन अन्सारी रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। UP 56 BC 5548 नम्बरको भारतीय कारमा पोखरा आउंदै गरेका उनीहरुको साथबाट कारको ढोकाको भित्री भागमा लुकाइछिपाइ राखिएको अवस्थामा डाइजापाम पांचसय एम्पुल, फेनेरागन पांचसय एम्पुल र नुरफिन पांचसय एम्पुल गरी जम्मा एकहजार पांचसय एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।