पोखरा, २१ भदौ २०८३ ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा खोज तथा उद्धार कार्य ११औँ दिन पनि तीव्र रूपमा जारी छ।
परराष्ट्र मन्त्रालयले शनिबार दिउँसो २ बजेसम्म सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी तथा पहिरोमा परी हालसम्म एकहजार तीनसय ४४ जनाको शव फेला परेको छ भने करिब पांचहजार नागरिक अझै बेपत्ता छन्।
बेपत्तामध्ये ३५ देशका करिब ६ सय विदेशी नागरिक समेत रहेको मन्त्रालयले जनाएको छ। विपद्पछि हालसम्म १३ हजार ९८ जनालाई जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये तीनसय भन्दा बढी विदेशी नागरिक रहेका छन्।
उद्धार अभियानका क्रममा पछिल्लो २४ घण्टा भने निकै आशालाग्दो रह्यो। यस अवधिमा मात्रै चार जनालाई जीवितै उद्धार गर्न उद्धार टोली सफल भएको छ।
माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई नेपाली कामदार, माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिक र बेत्रावतीस्थित एक घरबाट एक नेपाली नागरिकलाई जीवितै उद्धार गरिएको हो।
विपद्को ११औँ दिनसम्म पनि हजारौँ नागरिक बेपत्ता रहेको अवस्थामा सुरुङ तथा भग्नावशेषबाट मानिसहरू जीवितै फेला पर्नुले उद्धार अभियानमा आशा थपिएको छ। दुर्गम भूगोल, क्षतिग्रस्त सडक तथा प्रतिकूल मौसमका बाबजुद सुरक्षा निकाय र उद्धार टोलीले खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्।