पोखरा, २० भदौ २०८३ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ परतमा निर्माणाधीन सुपर सेती हाइड्रोपावरको सडक खन्ने क्रममा पहिरो खस्दा दुई जना कामदार घाइते भएका छन्।
शनिबार बिहान करिब ११ बजे सडक खन्ने क्रममा अचानक माथिबाट पहिरो खसेर हाइड्रोपावरमा कार्यरत हालसम्म नाम, थर र वतन नखुलेका दुई जना मानिस घाइते भएको प्रहरीले जनाएको छ। स्थानीयवासीले उद्धार गरी दुवै घाइतेलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल, पोखरा पठाएका छन्।
घाइते दुवै जनाको अवस्था गम्भीर रहेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी सर्दिखोला, कास्कीबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र श्रेष्ठको कमाण्डमा दुई जनाको टोली घटनास्थलतर्फ खटिएको थियो। घटनास्थल प्रहरी चौकी सर्दिखोलाबाट करिब १२ किलोमिटर पूर्वमा पर्छ।
घटनासम्बन्धी थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।