काठमाडौं, १९ भदौ २०८३ ।
गृह मन्त्रालयले सहसचिव र उपसचिवहरूको ब्यापक रुपमा सरुवा तथा पदस्थापन गरेको छ। सोही क्रममा पर्वत , म्याग्दी र गोर्खा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो) हरु पनि सरुवा भएका छन्।
शुक्रबारको मन्त्रीस्तरीय निर्णयानुसार १४ जना सहसचिव र ९ जना उपसचिव गरी २३ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको प्राप्त समाचारमा जनाइएको छ।
उक्त सरुवा सुची अनुसार , पर्वत जिल्लामा प्रमुख जिल्ला अधिकारीका रुपमा रोल्पाका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्री सरुवा भएका छन् भने म्याग्दीमा गणेश गैरे र गोरखामा धर्मेन्द्र कुमार मिश्रलाई प्रमुख जिल्ला अधिकारीका रुपमा खटाइएको छ।
मन्त्रालयको निर्णय अनुसार सहसचिव श्रवण कुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ। झापाका सीडीओ शिवराम गेलाललाई भने गृह मन्त्रालयमा तानिएको छ।
यसैगरी महेन्द्र कुमार सापकोटालाई सुर्खेत, खडानन्द अधिकारीलाई बारा, रेखा कँडेललाई दाेलखा, र लक्ष्मी प्रसाद पौडेललाई रौतहटको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ।
सहसचिव ऋषिराम तिवारीलाई लागू औषध नियन्त्रण विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ। यस्तै, रौतहटका सिडियो दिनेश सागर भुसाल, गोरखाका तुलसी बहादुर श्रेष्ठ, दाेलखाका हरि प्रसाद घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत तानिएको छ।
नौ जना उपसचिवको सरुवा हुँदा केही साना जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू पनि फेरिएका छन्। कुलेश्वर अर्याललाई भोजपुर, नवरराज बराललाई जाजरकोट, महेश कुमार गुरुङलाई खोटाङ र बन्दना केसीलाई सल्यानको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। त्यस्तै, अमर बहादुर वलीलाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी र बेदराज फुयाँललाई डडेल्धुराको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ।
