डिएनए परीक्षणबाट टीकाराम नेपालीको पहिचान, हत्यामा आफ्नै दुई छोरा संलग्न रहेको खुलासा

डिएनए परीक्षणबाट टीकाराम नेपालीको पहिचान, हत्यामा आफ्नै दुई छोरा संलग्न रहेको खुलासा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ भाद्र २०८३
  • 1.1K
    Shares

चितवनमा आफ्नै बुबा टीकाराम नेपालीको हत्या

चितवन , १९ भदौ २०८३ ।

भरतपुर महानगरपालिका–१८ का टीकाराम नेपालीको हत्या आफ्नै दुई छोराले गरेको खुलेको छ। करिब तीन वर्षअघि नारायणी नदी किनारमा फेला परेको मानव कङ्कालको डिएनए परीक्षणबाट मृतकको पहिचान खुलेसँगै घटनाको अनुसन्धान गर्दा हत्यामा उनका दुई छोरा संलग्न रहेको पुष्टि भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २०७९ फागुन १९ गते भरतपुर महानगरपालिका–१७ गाजीपुरस्थित नारायणी नदीको बगरमा खप्पर, मेरुदण्ड, कम्मर, तिघ्रा तथा दुवै नलीखुट्टाका हाडलगायत मानव कङ्काल फेला परेको थियो। कङ्काल आसपास कपडा, मोबाइल, मुख बाँधिएको तथा पिँध च्यातिएका बोरा र प्लास्टिकका थैलासमेत भेटिएका थिए।

कङ्काल फेला परेपछि प्रहरीले घटनाबारे अनुसन्धान थाले पनि तत्काल मृतकको पहिचान हुन सकेको थिएन। टीकाराम नेपाली बेपत्ता रहेको खुलेपछि उनका कान्छा छोरा अनिल नेपालीको रगतको नमुना लिएर डिएनए परीक्षण गरिएको थियो। परीक्षणबाट नारायणी किनारमा फेला परेको कङ्काल टीकारामकै भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

पहिचान खुलेपछि प्रहरीले टीकारामको हत्या सम्बन्धमा थप अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा उनका जेठा छोरा अम्मरसिंह नेपाली र माइला छोरा विष्णुबहादुर नेपाली हत्यामा संलग्न रहेको खुलेको प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए।

प्रहरीका अनुसार अम्मरसिंह र विष्णुबहादुर दुवै वैदेशिक रोजगारीमा रहेका थिए। हत्यापछि दुवै विदेश गएकाले उनीहरूलाई नेपाल झिकाउन प्रहरीले रेड कर्नर नोटिससमेत जारी गरेको थियो।

केही दिनअघि नेपाल आएका अम्मरसिंहलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो। पक्राउपछि गरिएको अनुसन्धान तथा बयानका क्रममा उनले भाइ विष्णुबहादुरसँग मिलेर बाबुको हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार घरमा बाबुआमाबीच विवाद भएपछि टीकाराम घर छाडेर नवलपरासीको गैँडाकोटमा अर्काको घरमा काम गर्दै बसेका थिए। त्यसपछि दुई छोराले उनलाई फकाएर घरमा ल्याई हत्या गरेको पक्राउ परेका अम्मरसिंहले बयान दिएका छन्।

पक्राउ परेका अम्मरसिंहविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ। उनलाई भदौ १६ गते चितवन जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भनिएका उनका माइला भाइ विष्णुबहादुर भने अझै वैदेशिक रोजगारीका क्रममा विदेशमै रहेका छन्। प्रहरीले उनलाई पनि नेपाल ल्याउने प्रक्रिया अघि बढाएको जनाएको छ।

डिएनए परीक्षणबाट चितवनमा आफ्नै दुई छोराहरुले बुबा टीकाराम नेपालीको हत्या गरेको खुलासा

प्रतिक्रिया