संखुवासभामा शिक्षकको गोली हानेर हत्या गरेको आरोपमा एक जना पक्राउ

संखुवासभामा शिक्षकको गोली हानेर हत्या गरेको आरोपमा एक जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ भाद्र २०८३
  • 1.3K
    Shares

काठमाडौं, १९ भदौ २०८३ ।

संखुवासभामा शिक्षकको गोली हानेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयमा ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईलाई गएराती भरुवा बन्दुकले हानेर हत्या गरेको आरोपमा मकालु –१ सिउँडीबारीका करिब ३३ वर्षीय पत्न कुलुङ राई पक्राउ परेका हुन्।

प्रहरीका अनुसार , बिहीबार साँझ करिब ७ बजे सिलिचोङ गाउँपालिका–५ याफु घर भई कालिका आधारभूत विद्यालयमा बस्दै आएका करिब ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राई खाना खाइसकेपछि भाँडा धुन विद्यालयबाहिर निस्किएका थिए। सोही क्रममा अचानक बन्दुक पड्किएको आवाज आएपछि विद्यालयमै बस्ने शिक्षिका टिकामाया राई बाहिर निस्केर हेर्दा नरकुबिर ढलेको र शरीरबाट रगत बगिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको शरीरको पछाडिको भागमा भरुवा बन्दुकबाट लागेको चोट भेटिएको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान गर्ने क्रममा प्रहरीले शुक्रबार बिहान करिब ११ बजे पत्न कुलुङ राईलाई घटनामा प्रयोग भएको भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका राईमाथि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

प्रतिक्रिया