पोखराको फेवातालमा एकाबिहानै भारतीय कार खस्यो : दुई जनाको मृत्यु, दुई जना घाइते

पोखराको फेवातालमा एकाबिहानै भारतीय कार खस्यो : दुई जनाको मृत्यु, दुई जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ भाद्र २०८३
  • 931
    Shares

car accident in fewalake

पोखरा , १९ भदौ २०८३।

पोखरास्थित फेवातालमा भारतीय नम्बर प्लेटको कार खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सेदीतर्फबाट लेकसाइड आउँदै गरेको भारतीय नम्बर प्लेट BR 05 BB 6759 को कार शनिबार बिहान करिब ४ः५० बजे पोखरा महानगरपालिका–१८ गैरीचौतारा घुम्तीस्थित सडकबाट फेवातालमा खस्दा दुई जनाको मृत्यु भएको हो भने दुई जना घाइते भएका हुन्। उक्त भारतीय कार अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल फेवातालमा खसेको थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, उक्त दुर्घटनामा मृतक भएका दुई मध्ये एक जना भारतको बिहार प्रदेश, ईस्ट चम्पारण जिल्ला, रक्सौल घर भएका २६ वर्षीय नवदीप कुमार यादव रहेको र अर्का करिब ४०–४५ वर्षीय पुरुषको पहिचान खुल्न बाँकी रहेको छ।

उनीहरुलाई फेवातालबाट उद्धार गरेर तत्काल उपचारका लागि साबिकको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हालको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पठाइएकोमा बिहान ६ः२१ बजे मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।

सोही दुर्घटनामा परेर भारतको बिहार प्रदेश, मोतिहारी जिल्ला, रक्सौल घर बताउने २७ वर्षीय अनमोल कुमार यादव र ३३ वर्षीय सुरज यादव घाइते भएका छन् र उनीहरुको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।

दुर्घटनाको खबर प्राप्त भएपछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमान्डमा १५ जना प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल नं. २४ हेडक्वार्टर कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको कमान्डमा १३ जनाको टोली घटनास्थल पुगेको थियो।

प्रतिक्रिया