पोखरा , १९ भदौ २०८३।
वैदिक सनातन धर्मावलम्बीहरूले भगवान् श्रीकृष्णको पूजाआराधना गर्दै आज श्रद्धा र भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन्। पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।
धार्मिक मान्यताअनुसार द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको थियो। यही घटनाको स्मरणमा अष्टमीको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई ‘मोहरात्रि’का रूपमा मनाउने गरिन्छ।
जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा विशेष पूजाआराधना, प्रवचन, भजन तथा कीर्तन आयोजना गरिन्छ। भक्तजनहरू व्रत बसेर रातभर जाग्राम बस्ने परम्परा पनि छ।
धार्मिक विश्वासअनुसार अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव समुदायको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको हो। उनले जीवनभर सत्य र सत्कर्मको पक्षमा उभिँदै मानव समुदायलाई धर्मको मार्गमा अघि बढ्न प्रेरित गरेको मानिन्छ।
कुरुक्षेत्रको युद्धमा अर्जुनलाई श्रीकृष्णले दिएको उपदेश ‘श्रीमद्भागवत गीता’ हिन्दू धर्मको महत्वपूर्ण पवित्र ग्रन्थका रूपमा मानिन्छ। छोटकरीमा ‘गीता’ भनेर चिनिने यो ग्रन्थ विभिन्न भाषामा अनुवाद भई विश्वभर चर्चित छ।
पौराणिक ग्रन्थहरूमा श्रीकृष्णले बाल्यकालदेखि नै विभिन्न लीला देखाएको तथा पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिका पात्रको संहार गरेको उल्लेख पाइन्छ।
जन्माष्टमीका अवसरमा ललितपुरको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा विशेष मेला लाग्ने गर्दछ। त्यस्तै काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतनधाममा पनि ठूलो संख्यामा भक्तजन पुग्ने गरेका छन्।
काठमाडौँ उपत्यकासहित देशभरका कृष्ण मन्दिरमा आज भक्तजनको चहलपहल बढ्नेछ। विभिन्न धार्मिक सङ्घसंस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रासमेत आयोजना गर्ने परम्परा छ।