पोखरा १८ भदौ २०८३ ।
इलाम नगरपालिका–१० बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिज निर्माणका सामग्री बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
झापाबाट इलामतर्फ आउँदै गरेको WB29B2944 नम्बरको ट्रक बुधबार दिउँसो करिब ४ः४५ बजेअनियन्त्रित भई सडकबाट करिब पाँच मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको हो भने दुई जना घाइते भएका हुन्।
उक्त दुर्घटनामा ट्रकका सहचालक भारतको दक्षिण दिनाजपुर जिल्लाको गंगारामपुर निवासी करिब ३८ वर्षीय सुवास बर्मुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा ट्रक चालक गंगारामपुरकै करिब ३० वर्षीय रबिन बर्मुन र सिन्धुपाल्चोकको चौतारा नगरपालिका–३ का २९ वर्षीय आशबहादुर तामाङ घाइते भएका छन्।
प्रहरीका अनुसार चालक रबिनको शरीरको बाहिरी भागमा चोटपटक देखिएको छैन र उनी बोल्न सक्ने अवस्थामा छन्। तामाङको भने बायाँ हातमा सामान्य चोट लागेको छ। दुवै घाइतेलाई थप उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।