पोखरा १८ भदौ २०८३ ।
रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोपछि सम्पर्कविहीन भएका कास्कीका ११ जनामध्ये दुई जना सुरक्षित रूपमा सम्पर्कमा आएका छन्।
स्थानीय प्रशासन तथा आफन्तका अनुसार पोखरा महानगरपालिका–१५ का ३८ वर्षीय छमप्रकाश थापा र सोही वडाकी ३३ वर्षीया मनु बुढा सम्पर्कमा आएका हुन्। उनीहरू रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका बेला सम्पर्कविहीन भएका थिए।
जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायमा दर्ता भएको निवेदनका आधारमा उनीहरू सम्पर्कविहीनको सूचीमा परेका थिए। दुवै जना सुरक्षित रहेको पुष्टि भएपछि कास्कीबाट सम्पर्कविहीन भएका व्यक्तिको संख्या ९ मा झरेको छ।
हालसम्म सम्पर्कमा नआएकाहरूमा पोखरा–१७ की ३३ वर्षीया सविना पौडेल/मिश्र, पोखरा–५ की सृष्टि बास्तोला, पोखरा–६ का ३२ वर्षीय अभिषेक आचार्य, पोखरा–१२ का ४५ वर्षीय लीलाबहादुर थापा र २९ वर्षीय सुमन श्रेष्ठ रहेका छन्।
त्यस्तै, पोखरा–१५ की ५१ वर्षीया देवीकुमारी गुरुङ, पोखरा–१३ की ५० वर्षीया बिनु गुरुङ, पोखरा–१४ का गोविन्दबहादुर अधिकारी र पोखरा–१२ जयटोलका ४२ वर्षीय दिलबहादुर थापा पनि अझै सम्पर्कविहीन छन्।
रसुवा बाढी तथा पहिरो प्रभावित क्षेत्रमा बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेकाले सम्पर्कमा आउने व्यक्तिहरूको संख्या बढ्न सक्ने प्रशासनले जनाएको छ। प्रशासनका अनुसार प्रभावित क्षेत्रमा रहेका कास्कीका नागरिकको अवस्थाबारे थप विवरण संकलन तथा खोजी कार्यलाई निरन्तरता दिइएको छ।