पोखरा १८ भदौ २०८३ ।
पोखरा पर्यटन परिषद्को अध्यक्षमा हरि भुजेल निर्वाचित भएका छन् । बुधबार सम्पन्न परिषद्को २६औँ साधारण सभा तथा १४औँ अधिवेशनबाट भुजेलले अध्यक्षका प्रत्यासी कृष्ण भण्डारीलाई पराजित गर्दै आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
परिषद्मा रहेका ३९ प्रतिनिधिमध्ये भुजेलले २५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी भण्डारीले ११ मत प्राप्त गरे । निर्वाचनमा ३ मत भने बदर भएको जनाइएको छ ।
भुजेल ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका पूर्व अध्यक्षसमेत हुन् । उनी यसअघि पोखरा पर्यटन परिषद्मा प्रथम उपाध्यक्षको जिम्मेवारीमा थिए ।
यसैगरी परिषद्को सदस्यमा बाबुराम पाण्डे, सुनिलबहादुर भट्टराई, शोभा अधिकारी सापकोटा, जीवनराज सापकोटा र नारायणप्रसाद सुवेदी सर्वसम्मत निर्वाचित भएका छन् । परिषद्मा निर्वाचित पदाधिकारीबीच जिम्मेवारी बाँडफाँट भने हुन बाँकी रहेको जनाइएको छ ।
परिषद्को साधारण सभा तथा अधिवेशनको उद्घाटन नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले गरेका थिए । कार्यक्रम परिषद्का अध्यक्ष तारानाथ पहारीको अध्यक्षतामा सम्पन्न भएको हो ।
पोखरा पर्यटन परिषद् पोखराका पर्यटन व्यवसायीहरूको छाता संगठनका रूपमा क्रियाशील रहँदै आएको छ । परिषद्ले पोखराको पर्यटन प्रवर्द्धन, पर्यटन व्यवसायीका हकहित तथा पर्यटन क्षेत्रका विभिन्न गतिविधिमा समन्वय गर्दै आएको छ ।