झापा १८ भदौ २०८३ ।
। बिर्तामोडमा नेटवर्किङ व्यवसायको नाममा सर्वसाधारणलाई स्वास्थ्यसम्बन्धी सेवा तथा औषधी बिक्री गरेको आरोपमा प्रहरीले ग्लोबल ओरियन्सको कार्यालयमा छापा मारेको छ। प्रहरीले कार्यालयबाट ४१ जनालाई नियन्त्रणमा लिएको छ।
बिर्तामोड नगरपालिका–५ बुद्धनगरस्थित ग्लोबल ओरियन्सको कार्यालयमा बुधबार दिउँसो इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष पाठकको नेतृत्वमा प्रहरी टोली पुगेको थियो।
कार्यालयमा खानतलासी गर्दा प्रहरीले विभिन्न प्रकारका औषधी, स्वास्थ्य जाँचमा प्रयोग हुने उपकरण, कागजात तथा केही नगद बरामद गरेको जनाएको छ। नियन्त्रणमा लिइएकामध्ये २२ जना महिला र १९ जना पुरुष रहेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा इलाम घर भएका अर्जुनधारा मल्टी पर्पोजका सञ्चालक सुजन लिम्बू र ग्लोबल ओरियन्सका शाखा प्रमुख पिताम्बर कट्टेलसमेत छन्। उनीहरूसहित नियन्त्रणमा लिइएका सबैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ।
स्वास्थ्य जाँचका नाममा प्रतिव्यक्ति एक हजार रुपैयाँ
प्रहरीका अनुसार शैक्षिक परामर्श तथा तालिम सञ्चालन गर्ने उद्देश्यले स्थापना गरिएको अर्जुनधारा मल्टी पर्पोजसँग सहकार्य गरेर ग्लोबल ओरियन्सले स्वास्थ्य जाँच तथा औषधी बिक्री गर्दै आएको थियो।
कक्षा १२ उत्तीर्ण गरेका पिताम्बर कट्टेलले एउटा मेसिनमार्फत सर्वसाधारणको ‘होलबडी चेकअप’ गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। स्वास्थ्य जाँच गरेबापत प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लिने गरिएको प्रहरीको भनाइ छ।
स्वास्थ्य परीक्षणका क्रममा विभिन्न स्वास्थ्य समस्या देखिएको भन्दै त्यसको उपचारका लागि औषधीसमेत बिक्री गर्ने गरिएको बताइएको छ। प्रहरीका अनुसार सबै प्रकारका रोग निको पारिदिने दाबी गर्दै सर्वसाधारणलाई प्रभावित पार्ने प्रयाससमेत हुने गरेको आरोप छ।
नेटवर्किङ व्यवसायसँग जोडेर स्वास्थ्य सेवा सञ्चालन
शैक्षिक परामर्श तथा तालिमका लागि स्थापना गरिएको कम्पनीसँगको सहकार्यमा स्वास्थ्य परीक्षण र औषधी बिक्रीसमेत सञ्चालन गरिएको भेटिएपछि प्रहरीले ग्लोबल ओरियन्सको कार्यालयमा छापा मारेको जनाएको छ।
प्रहरीले बरामद गरेका औषधी, स्वास्थ्य जाँच गर्ने उपकरण, कागजात तथा नगद अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
पक्राउ परेकाहरूसँग सोधपुछ गर्नुका साथै बरामद सामग्रीको परीक्षण तथा आवश्यक अनुसन्धानपछि घटनाको थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।
नेटवर्किङ व्यवसायको आवरणमा स्वास्थ्यसम्बन्धी गतिविधि सञ्चालन गरी सर्वसाधारणबाट रकम असुलिएको विषयमा समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।