पाल्पा, १७ भदौ २०८३ ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा खोलाले बगाउँदा दुई युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–७, जोगदमारका ३२ वर्षीय विपिन पोखरेल र २३ वर्षीय प्रवीन पुन रहेका छन् । उनीहरूलाई खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
प्रहरीका अनुसार उनीहरू लु २९ प ९८७६ नम्बरको मोटरसाइकलमा रैनादेवी छहरा गाउँपालिका–८, सत्यवतीतर्फ जाँदै थिए । सोमबार साँझ करिब ६ बजेदेखि दुवै जना सम्पर्कविहीन भएका थिए ।
उनीहरू लामो समयसम्म सम्पर्कमा नआएपछि आफन्तले बुधबार बिहान करिब १२ बजे अस्थायी प्रहरी पोष्ट बेलबासमा जानकारी गराएका थिए । सूचना प्राप्त भएलगत्तै प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली परिचालन गरी खोजी शुरु गरिएको थियो ।
खोजीका क्रममा रैनादेवी छहरा गाउँपालिका–७, डुम्रेवासस्थित सडकबाट करिब पाँच फिट तल ठाडोखोलामा उनीहरू सवार मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल फेला परेपछि प्रहरीले थप खोजतलास गर्ने क्रममा दुवै युवाको शव खोलाले बगाएर रूपन्देहीको सैनामैना नगरपालिका–१०, मोवाघारीस्थित कञ्चन खोलामा पुर्याएको अवस्थामा फेला पारेको हो ।
प्रहरीले घटनास्थलमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी दुवै शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाएको जनाएको छ । घटनाको कारण तथा अन्य विवरणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।