वडाध्यक्षमाथि मोबिल छ्यापेको आरोपमा स्याङ्जाबाट एक जना पक्राउ

वडाध्यक्षमाथि मोबिल छ्यापेको आरोपमा स्याङ्जाबाट एक जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १७ भाद्र २०८३
  • 855
    Shares

bhuparaj wosti-wadadhyaxa, मोबिल छ्यापिएका चापाकोट –१ का वडाध्यक्ष भूपराज वोस्ती

स्याङ्जा, १७ भदौ २०८३ ।

चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भूपराज वोस्तीमाथि मोबिल छ्यापेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चापाकोट नगरपालिका–१ निवासी ३१ वर्षीय सन्तोष थापा मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार वडा कार्यालय परिसरमा वडाध्यक्ष वोस्तीको शरीरमा मोबिल छ्याप्ने घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

प्रहरीले पक्राउ परेका थापा मगरलाई स्याङ्जा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

यसअघि चापाकोट–१ को वडा कार्यालयमा आर्थिक वर्ष २०८३/८४ का योजना छनोट तथा बजेट विनियोजनलाई लिएर स्थानीय युवाहरू र वडाध्यक्षबीच विवाद हुँदै आएको थियो। स्थानीय युवाहरूले वडाध्यक्षले स्थानीय आवश्यकता र सरोकारवालासँग पर्याप्त छलफल नगरी योजना छनोट गरेको आरोप लगाउँदै वडा कार्यालयमा तालाबन्दीसमेत गरेका थिए। वडाध्यक्ष वोस्तीले भने योजना छनोटमा एकलौटी नभएको र सरोकारवालाको सहभागितामै योजना छनोट गरिएको दाबी गरेका थिए।

सोही विवादकै पृष्ठभूमिमा वडाध्यक्षमाथि मोबिल छ्यापिएको प्रारम्भिक विवरण सार्वजनिक भएको थियो। घटनापछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान अघि बढाएको थियो।

घटनालाई लिएर नेकपा एमाले स्याङ्जाले भने वडाध्यक्षमाथि कुटपिट गर्नुका साथै पेट्रोल छर्केर आगो लगाउने प्रयाससमेत भएको आरोप लगाएको थियो। प्रहरीले भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

वडाध्यक्ष वोस्ती २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट चापाकोट–१ को वडा अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचनमा उनले नेपाली कांग्रेसका लोकबहादुर आलेलाई आठ मतको अन्तरले पराजित गरेका थिए।

प्रहरीले पक्राउ परेका थापा मगरको संलग्नता, घटनाको वास्तविक कारण तथा अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया