पोखरा, १७ भदौ २०८३।
पोखरा महानगरपालिका–२५ हेम्जा चौरस्थित याम्दी नदीको भिरबाट लडेर एक युवती गम्भीर घाइते भएकी छन्।
भिरबाट महिला कराएको आवाज सुनिएको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमाण्डमा १० जना र सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेक्वा कालिका कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको कमाण्डमा १३ जनाको संयुक्त टोली खोज तथा उद्धारका लागि परिचालन भएको थियो।
खोजीका क्रममा हेम्जा चौरबाट करिब ३०० मिटर तल याम्दी खोलाको खोच किनारमा पोखरा–२५ बुद्धचोक बस्ने २२ वर्षीया देवी सुनार घाइते अवस्थामा फेला परेकी थिइन्। उनलाई तत्काल उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल, कास्की पठाइएको प्रहरीले जनाएको छ।
घाइते सुनारको ढाड तथा दुवै हातखुट्टामा चोट लागेको र अवस्था गम्भीर रहेको बताइएको छ। उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
घटनास्थल वडा प्रहरी कार्यालय बगरबाट करिब ६ किलोमिटर उत्तरतर्फ पर्छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।