बजार नपाउँदा बझाङका किसान चिन्तित : स्याउ बगैँचामै कुहिँदै

बजार नपाउँदा बझाङका किसान चिन्तित : स्याउ बगैँचामै कुहिँदै


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १७ भाद्र २०८३
  • 570
    Shares

काठमाडौं, १७ भदौ २०८३।

बझाङको खप्तडछान्ना गाउँपालिका–६ राजकोट र खालीगडाका किसानले वर्षौँको मेहनतपछि उत्पादन गरेको स्याउले बजार नपाउँदा बगैँचामै कुहिन थालेको छ।

बोटमा लटरम्म स्याउ फले पनि किसानलाई बिक्रीको चिन्ता छ। बाँदर, भालु, बँदेल, अरिङ्गाल र चराचुरुङ्गीबाट जोगाउन चौबिसै घण्टा बगैँचामा निगरानी गर्नुपर्ने किसानको गुनासो छ।

खालीगडाबाट सडक पुगेको ठाउँसम्म स्याउ पुर्‍याउनै करिब दुई घण्टा पैदल हिँड्नुपर्ने र त्यसपछि पनि महँगो ढुवानीका कारण बजारमा प्रतिस्पर्धा गर्न नसकेको किसान बताउँछन्। बर्खाको समयमा सडक अवरुद्ध हुँदा समस्या थप जटिल हुने गरेको छ।

बझाङका बजारमा भारतको हिमाचलसहित जुम्ला र मुस्ताङको स्याउ प्रतिकिलो करिब १५०–१७० रुपैयाँमा पाइन्छ। तर स्थानीय किसानले बगैँचामै प्रतिकिलो ८० रुपैयाँमा स्याउ दिन खोज्दा समेत ग्राहक नपाउने अवस्था रहेको किसान नरेन्द्र थापाले बताए।

खालीगडाका कैलाश खड्काले ८०० बोट स्याउ लगाएका छन्। करिब ३०० बोटमा राम्रो उत्पादन भए पनि बजार अभावका कारण आम्दानी गर्न नसकेको उनको गुनासो छ। गत वर्ष स्याउ बोकेर बाजुरासम्म पुगे पनि बिक्री नभएपछि अन्य कृषि उपजसँग साटेर फर्किनुपरेको उनले बताए।

किसानको समस्या समाधानका लागि ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडिसी) ले बजारीकरणको पहल थालेको छ। संस्थाले पहिलो चरणमा १० क्विन्टल स्याउ संकलन गरी धनगढी पुर्‍याउने र ढुवानी खर्चको केही हिस्सा व्यहोर्ने कार्यक्रम संयोजक धिरेन्द्र रोकायाले बताए।

बजारमा माग बढेमा सहकारीमार्फत स्याउको संकलन, ग्रेडिङ, प्याकेजिङ, भण्डारण र ढुवानी व्यवस्थित गरी किसानलाई थप उत्पादनतर्फ प्रोत्साहित गर्ने संस्थाको योजना छ।

प्रतिक्रिया