वीरगञ्ज , १५ भदौ २०८३ ।
वीरगञ्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी गरेर भागेकी महिला पक्राउ परेकी छिन। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ की २७ वर्षीया सबिना खातुन रहेकी छन्।
प्रहरीका अनुसार भदौ १३ गते राति शल्यक्रियामार्फत जन्मिएका नवजात बालकलाई खेलाउने बहानामा खातुनले अनधिकृत रूपमा लिएर भागेकी थिइन्। उनी आज दिउसो एक बजे वीरगञ्ज महानगरपालिका–१६ इनर्वाटोलस्थित हाजी हमिद मिया तेलीको घरबाट पक्राउ परेकी प्रहरीले जानकारी दिएको छ।
उनले चोरी गरेर लगेको नवजात शिशुलाई प्रहरीले उद्धार गरेर सम्बन्धित अभिभावकको जिम्मा लगाई सकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी पवन भट्टराइले जानकारी दिए।
प्रारम्भिक विवरणअनुसार खातुनले अस्पतालमा आफूलाई सरसफाइ कर्मचारीका रूपमा परिचय गराउँदै शिशुकी हजुरआमासँग नजिकिएकी थिइन्। बच्चा खेलाउने बहानामा शिशु लिएपछि उनी सम्पर्कविहीन भएकी थिइन्। पक्राउ परेकी महिलाको स्थायी ठेगानाबारे भने अझै पूर्ण स्पष्टता छैन। उनले कहिले पर्साको रंगपुर टाँडी र कहिले अन्य स्थान बताउने गरेको तथा भरपर्दो कागजातबाट ठेगाना पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकी खातुनमाथि शिशु चोरीसम्बन्धी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।