नवलपरासी, १५ भदौ २०८३ ।
नवलपरासीको रामग्राम नगरपालिका–१, निलो गेट नजिक प्रहरीले चार राउण्ड हवाई फायर गरी दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरोको भैरहवा शाखाबाट खटिएको टोलीले भारतबाट खैरो हेरोइन ल्याई लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने गिरोहलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर भएका ३३ वर्षीय गिरिजेस श्रीवास्तव र भारत निचलोन घर भएका २७ वर्षीय दीपक श्रीवास्तव छन्।
उनीहरूको साथबाट एकसय ५८ ग्राम खैरो हेरोइन बरामद भएको ब्यूरो स्रोतलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।
आरोपीहरूले लुम्बिनी प्रदेशका जिल्लामा बेच्ने उद्देश्यले भारतबाट खैरो हेरोइन ल्याएको प्रहरीको अनुसन्धान देखाएको छ । उनीहरू चढेको भारतीय नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।
प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले पनि भाग्दै गरेका लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाइएको जानकारी आफूले पाएको बताएका छन्।