भोटेकोशी बाढीपीडितका लागि लेकसिटी कलेजका विद्यार्थीले जुटाए राहत

भोटेकोशी बाढीपीडितका लागि लेकसिटी कलेजका विद्यार्थीले जुटाए राहत


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ भाद्र २०८३
  • 1.2K
    Shares

lakecity college, भोटेकोशी बाढीपीडितका लागि लेकसिटी कलेजका विद्यार्थीले जुटाए राहत

पोखरा, १५ भदौ २०८३ पोखराको गैरापाटनस्थित लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरमा सामाजिक कार्य (बिएएसडब्लु) अध्ययनरत विद्यार्थीले भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गरी पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेका छन् ।

विद्यार्थीले सोमबार पोखरा प्रदर्शनी केन्द्रस्थित महानगरपालिकाको राहत संकलन केन्द्रमा खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य तथा सरसफाइ सामग्री बुझाएका हुन् ।

विद्यार्थीले राहत सामग्रीमा खाद्यान्न र दैनिक उपभोग्य वस्तुलाई प्राथमिकता दिएका छन् । संकलित सामग्रीमा १० केजीका दरले पांच बोरा र थप दुई साना बोरामा ५० प्याकेट सोयाबिन छ । त्यसैगरी दुई कार्टुन बिस्कुट, २० प्याकेट दालमोट, तीन बोरा चिउरा र दुई बोरा भुजा पनि राहतमा समावेश छ । स्वास्थ्य र व्यक्तिगत सरसफाइलाई ध्यान दिँदै उनीहरुले एकसय २० थान मञ्जन, एकसय २० थान ब्रस र एकसय २० थान नै नुहाउने साबुन संकलन गरेर बुझाएको विद्यार्थी सफल सुवेदीले बताए ।

बाढी प्रभावित क्षेत्रमा हुनसक्ने स्वास्थ्य जोखिम र महिलाको आवश्यकतालाई मध्यनजर गर्दै ६० प्याकेट लामखुट्टे धपाउने धूप र एकसय थान सेनेटरी प्याड पनि प्रदान गरिएको छ । विद्यार्थीले लत्ताकपडातर्फ ११ थान नयाँ ट्राउजर, २१ थान नयाँ ज्याकेट र बालबालिकाका लागि १२ थान नयाँ टिसर्ट उपलब्ध गराएका छन् । घरायसी प्रयोजनका लागि ६ थान बाल्टिन र ६ थान मग पनि राहत सामग्रीको सूचीमा समेटिएको छ । 

गत १० भदौमा भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि विद्यार्थीले अभियान सञ्चालन गरेका थिए ।

विद्यार्थी इविक कर्माचार्यले विपद्का बेला सामाजिक उत्तरदायित्व महसुस गर्दै बाढीपीडितलाई केही राहत पुगोस् भन्ने उद्देश्यले अभियान चलाइएको बताए । विद्यार्थी सफल सुवेदीका अनुसार स्वास्थ्य, सरसफाइ र दैनिक उपभोग्य सामग्रीलाई प्राथमिकता दिइएको हो ।

पोखरा महानगरपालिकाले संकलित सामग्री बाढी प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको जनाएको छ । लेकसिटी कलेज त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामाजिक कार्य विषयमा स्नातक तह पढाउने पोखराको एकमात्र कलेज हो ।

प्रतिक्रिया