पोखरा , १४ भदौ २०८३।
कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीका एक जवान मृत अवस्थामा भेटिएका फेला परेका छन्। मृत फेला पर्नेमा शुक्लाफाँटा नगरपालिका–२ का सशस्त्र प्रहरी जवान भरत धानुक रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार धानुक आइतबार दिउँसो करिब साढे १२ बजे घरबाट करिब दुई किलोमिटर टाढा जोनापुरस्थित नर्सरीमा मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार उनी रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए। घटनाको कारणबारे भने थप अनुसन्धान भइरहेको डीएसपी रावतले जानकारी दिए।
दार्चुलामा कार्यरत धानुक केही दिनअघि मात्रै बिदामा कञ्चनपुरको झलारीस्थित घर आएका थिए। शनिबार साँझदेखि परिवारको सम्पर्कमा नआएपछि उनका परिवारले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि खोजी गर्ने क्रममा आइतबार दिउँसो उनी मृत अवस्थामा फेला परेका हुन्।
धानुक विवाहित रहेको र उनका श्रीमतीबाहेक छोराछोरी भने नरहेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।