पोखरा, १३ भदौ २०८३।
पोखरा महानगरपालिका–२५ तिब्रेकोटस्थित मिलनचोक–घाचोक–लाहाचोक भित्री पक्की सडकखण्ड पहिरो खस्दा पूर्णरूपमा अवरुद्ध भएको छ।
बिहीबार साँझ करिब सात बजे अविरल वर्षाका कारण सडक माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
सडक अवरुद्ध भएको जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट हेम्जाबाट प्रहरी सहायक निरीक्षक विष्णु मानन्धरको कमाण्डमा दुई जनाको टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ।
पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएपछि सवारी आवागमन प्रभावित भएको छ। सडक खुलाउन सम्बन्धित निकायसँग आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ।
उक्त स्थान वडा प्रहरी कार्यालय बगर, कास्कीबाट करिब १३ किलोमिटर उत्तरतर्फ पर्दछ। प्रहरीले पहिरोका कारण थप जोखिम हुन सक्ने भएकाले स्थानीयवासी तथा यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ।