अनुमति बिना नेपाली भूमिमा प्रवेश गरेको भन्दै कञ्चनपुरमा दुई जना भारतीय प्रहरी नियन्त्रणमा

अनुमति बिना नेपाली भूमिमा प्रवेश गरेको भन्दै कञ्चनपुरमा दुई जना भारतीय प्रहरी नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ भाद्र २०८३
  • 741
    Shares

पोखरा, १३ भदौ २०८३।

कञ्चनपुरमा नेपाल प्रहरीले दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो भारतको कर्नाटकबाट आएका भारतीय प्रहरीका एक असईसहित दुई जनालाई इलाका प्रहरी कार्यालय दोधाराचाँदनीले नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरीसँग पूर्वसमन्वय तथा जानकारीबिना नेपाली भूमिमा प्रवेश गरी एक जना बलात्कार मुद्दाका आरोपीलाई पक्राउ गर्न खोजेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीका अनुसार भारतीय प्रहरी टोली दोधाराचाँदनी नगरपालिका–क्षेत्रमा बस्दै आएका शंकर लुहारलाई पक्राउ गर्ने उद्देश्यले उनको घरमा पुगेको थियो । लुहारमाथि भारतको कर्नाटकमा बलात्कारसम्बन्धी मुद्दा रहेको बताइएको छ ।

लुहारलाई पक्राउ गर्न भारतीय प्रहरी नेपाली भूमिमा प्रवेश गरेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दोधाराचाँदनीको टोलीले भारतीय प्रहरीका दुई जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले भारतीय प्रहरीका दुई जनालाई नियन्त्रणमा लिएको पुष्टि गरे । उनका अनुसार घटनाबारे माथिल्लो प्रहरी निकायलाई जानकारी गराइसकिएको छ ।

“उनीहरूलाई नियन्त्रणमा लिएर घटनाबारे माथिल्लो निकायमा जानकारी गराइएको छ । माथिल्लो निकायबाट आउने निर्देशनअनुसार थप प्रक्रिया अघि बढाइनेछ,” डीएसपी रावतले भने ।

प्रहरी स्रोतका अनुसार नियन्त्रणमा पर्नेमा कर्नाटक प्रहरीका असई सतिश एमआर र प्रहरी जवान अल्फाब आरएस रहेका छन् । उनीहरू नेपाल प्रहरीसँग आवश्यक समन्वय नगरी नेपाली भूमिमा प्रवेश गरेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।

नेपाल–भारतबीच खुला सीमा रहे पनि एक देशको सुरक्षा निकायले अर्को देशको भूमिमा प्रवेश गरी कुनै व्यक्तिलाई पक्राउ गर्ने वा अनुसन्धानसम्बन्धी कारबाही गर्ने विषयमा सम्बन्धित देशका सुरक्षा निकायबीच समन्वय आवश्यक हुन्छ । त्यसैले भारतीय प्रहरी नेपाली भूमिमा प्रवेश गरेको विषयलाई प्रहरीले संवेदनशील रूपमा लिएको छ ।

भारतीय प्रहरी किन नेपाल आएको थियो, उनीहरूसँग सम्बन्धित मुद्दा तथा कागजात के–कस्ता छन् र नेपाली भूमिमा प्रवेश गर्दा कुनै औपचारिक प्रक्रिया पूरा गरिएको थियो वा थिएन भन्ने विषयमा थप अनुसन्धान तथा माथिल्लो निकायबाट प्राप्त निर्देशनपछि स्पष्ट हुने प्रहरीले जनाएको छ ।

घटनापछि भारतीय प्रहरीका दुवै जनालाई इलाका प्रहरी कार्यालय दोधाराचाँदनीको नियन्त्रणमा राखिएको छ । उनीहरूमाथि तत्काल के प्रक्रिया अपनाउने भन्ने विषयमा सम्बन्धित सुरक्षा निकायबीच समन्वय भइरहेको जनाइएको छ ।

प्रतिक्रिया