पोखरा, १३ भदौ २०८३।
अविरल वर्षासँगै पोखराको सडकमा आएको बाढीले बगाउँदा गम्भीर घाइते भएका आमाछोरी दुवै जनाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका–१७ स्थित पोखरा विमानस्थल नजिकै मेयर हर्कमेयर चोकमा बुधबार दिउँसो सडक नालीबाट आएको तीव्र भलले बगाउँदा गम्भीर घाइते भएका २६ वर्षीया सुष्मा दाहाल र उनकी २ वर्षीया छोरी रानीका दाहालको उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार सुष्मा छोरीलाई काखमा राखेर श्रीमानले चलाएको ग १३ प २८५९ नम्बरको स्कुटरमा चढेर बिरौटाबाट पृथ्वीचोकतर्फ आएकी थिइन्। हर्कमेयर चोकमा स्कुटर साइड लगाएर झरी हिँड्ने क्रममा सडक नालीबाट आएको पानीको तीव्र बहावले उनलाई बगाएको थियो। सो क्रममा उनकी छोरी रानीका पनि भलमा बगेकी थिइन्।
घटनाको जानकारी पाएपछि प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यबहादुर बोगटीको कमाण्डमा २१ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयवासीको सहयोगमा प्रहरीले दुवै आमाछोरीलाई करिब ४ः२३ बजे पोखरा–१७ बिरौटास्थित नहर कुलोबाट उद्धार गरेको थियो।
उद्धारपछि उनीहरूलाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो। प्रहरीका अनुसार दुवैको शरीरमा बाहिरी चोटपटक नदेखिए पनि अवस्था गम्भीर थियो। उपचारका क्रममा आमा सुष्मा दाहाल र छोरी रानीका दाहाल दुवैको मृत्यु भएको जनाइएको छ।
घटनापछि पोखरामा लगातार भइरहेको वर्षाका कारण सडक तथा नालीमा आएको तीव्र बहावप्रति थप सतर्कता अपनाउनुपर्ने देखिएको छ।