पोखरा, ११ भदौ २०८३।
रसुवा जिल्लामा आएको विनाशकारी बाढीपहिरोपछि पोखराका दुई जना सम्पर्कविहीन भएका छन्। उनीहरू बाढीपहिरो प्रभावित क्षेत्रमा रहेको आशंका गर्दै परिवार तथा आफन्तजनले अवस्थाबारे जानकारी गराइदिन अपिल गरेका छन्।
पोखरा महानगरपालिका–५, मालेपाटन निवासी इन्जिनियर सृष्टि बाँस्तोला भदौ १० गतेदेखि परिवारको सम्पर्कमा आएकी छैनन्। रसुवामा आएको बाढीपहिरोका कारण उनी प्रभावित भएको हुन सक्ने आशंका उनका बाबु माधव बाँस्तोलाले व्यक्त गर्नुभएको छ।
बाँस्तोला अपर त्रिशूली–३ बी जलविद्युत् आयोजना (३७ मेगावाट) मा इन्टर्न गर्ने क्रममा तीन दिनअघि मात्र तीन जना साथीसहित आयोजनास्थल पुगेकी थिइन्। त्यसपछि भदौ १० गतेदेखि उनको परिवारसँग सम्पर्क हुन नसकेको जनाइएको छ।
यसैगरी, रसुवा भन्सार कार्यालयमा कार्यरत पोखरा महानगरपालिका–१४, चाउथे समावेशीटोल निवासी गोविन्द अधिकारी पनि भदौ १० गतेदेखि सम्पर्कविहीन भएका छन्। बाढीपहिरोपछि अधिकारीसँग सम्पर्क हुन नसकेपछि उनको परिवार चिन्तित बनेको छ।
रसुवामा आएको बाढीपहिरोका कारण सडक तथा सञ्चार सम्पर्क प्रभावित भइरहेका बेला दुवै जनाको अवस्था अज्ञात बनेको परिवारले जनाएको छ।
परिवार तथा आफन्तजनले सृष्टि बाँस्तोला र गोविन्द अधिकारीको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा सम्बन्धित परिवार वा सुरक्षाकर्मीलाई खबर गरिदिन आग्रह गरेका छन्।