काठमाडौं, ११ भदौ २०८३।
प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेपछि खोजीका लागि प्रहरीमा निवेदन दिने एक महिलासहित पांच जना कैलालीमा पक्राउ परेका छन्।
लम्कीचुहा नगरपालिका–४ की यमुना सुनारले प्रेमी लम्कीचुहा–१० का दुर्योधन सुवर्णकारसँग मिलेर ३४ वर्षीय श्रीमान् दीपक सुनारको हत्या गरेकी हुन्।
प्रहरीका अनुसार , अभियुक्त यमुना सुनार र उनका प्रेमी दुर्योधन सुवर्णकार गएको साउन २१ गते टीकापुरस्थित एक होटलमा भेटेर अन्य साथीहरुको सहयोग लिएर श्रीमान दिपक सुनारको हत्या गर्ने योजना बनाएका थिए। सोहि योजना बमोजिम साउन २२ गते यमुनाले श्रीमान् दीपकलाई स्कुटीमा राखेर जानकी गाउँपालिका–१ अमरावतीस्थित जंगलमा पुर्याएकी थिइन्। उनीहरु जंगलमा पुगेपछि त्यहाँ लुकेर बसेका सुर्योधन र उनका साथीहरुले दीपकमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेर शव कर्णाली नदीमा फालेको बताइएको छ।
दिपकको शब अहिलेसम्म प्रहरीले फेला पारेको छैन। तर जंगलमा भेटिएको रगत, मासुका टुक्रा, दाउ, प्लास्टिकको थैली, चप्पल, हेल्मेट र झोलाका टुक्रालगायतका प्रमाणहरुका आधारमा दिपक सुनारको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ।
श्रीमानलाई हत्या गरेर फाले पछि यमुना सुनार आफैं श्रीमान्को खोजी गरिदिन भन्दै निवेदन लिएर प्रहरी कार्यालयमा पुगेको बताइएको छ। यमुनाले दिएको निवेदनका आधारमा खोजी गर्दै जाँदा उनको श्रीमान दिपक सुनारको शब् फेला नपरे पनि जंगलमा भेटिएको रगत, मासुका टुक्रा, दाउ, प्लास्टिकको थैली, चप्पल, हेल्मेट र झोलाका टुक्रा भेटिएको प्रहरीको दाबी छ।
घटनास्थलमा भेटिएका सबुत प्रमाण र प्रारम्भिक अनुसन्धानका क्रममा दिपक सुनारको हत्या उनकै श्रीमती यमुना सुनार समेतको मिलेमतोमा भएको निष्कर्षमा पुगेको प्रहरीले श्रीमती यमुना सुनारसहित पांच जनालाई पक्राउ गरिएको जानकारी दिएको छ।
प्रहरीले दिएको जानकारी अनुसारे , घटनामा संलग्न रहेको आरोपमा यमुना सुनार, उनका प्रेमी दुर्योधन सुवर्णकार, टीकापुर–३ का रामराजेश महतो तथा कञ्चनपुरको बेलौरी नगरपालिका–८ का वीरेन्द्र राना र भीमा राना पक्राउ परेका छन् ।
प्रहरीले हत्या गर्नका लागि यमुना र दुर्योधनले अन्य व्यक्तिलाई रकम दिने सहमति गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । यद्यपि, कति रकममा सहमति भएको थियो भन्ने विषय अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय टीकापुर, जिल्ला प्रहरी कार्यालय कैलाली र नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरको टोलीले थप अनुसन्धान गरिरहेको छ ।