पर्वत, ८ भदौ २०८३ ।
पर्वतको फलेवास नगरपालिका–१० कुर्घामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
लुङ्खुबाट बाच्छातर्फ जाँदै गरेको ध १ ह ६१ नम्बरको अटो शनिबार दिउँसो करिब साढे दुई बजे ओरालो सडकमा चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब १० मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको हो भने चार जना घाइते भएका छन्।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका बिहादी गाउँपालिका–१ बाच्छा देउरालीका ४९ वर्षीय प्रेमबहादुर विकको उपचारका क्रममा प्रदेश अस्पताल कुश्मामा दिउँसो ३ः३९ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
सोही दुर्घटनामा अटो चालक फलेवास नगरपालिका–११ पाङग्राङका ३६ वर्षीय मनबहादुर परियारसहित बिहादी गाउँपालिका–१ बाच्छा देउरालीका २४ वर्षीया कविता विक, १५ वर्षीया अन्जुली विक र १३ वर्षीया दुर्गा विक घाइते भएका छन्।
घाइते चारै जनाको प्रदेश अस्पताल कुश्मामा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।