काभ्रेपलाञ्चोक, ७ भदौ २०८३ ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित प्रसिद्ध पलाञ्चोक भगवतीको मूर्तिमा शनिबार साँझ ‘पसिना’देखिएको छ। साँझको आरतीका क्रममा मूर्तिमा पसिना देखिएको पुजारीले बताएका छन्।
मन्दिर व्यवस्थापन उपसमितिका पूर्वसंयोजक किरण श्रेष्ठका अनुसार देशमा दैवी विपत्ति वा राजनीतिक संकट आउनुअघि पलाञ्चोक भगवतीको मूर्तिमा विभिन्न संकेत देखिने र पसिना आउने धार्मिक विश्वास रहँदै आएको छ।
उनका अनुसार विगतमा पनि विभिन्न विपत्ति तथा राजनीतिक संकटका समयमा मूर्तिमा पसिना आएको बताइने गरिएको छ। २०८२ सालको जेनजी आन्दोलन, २०८१ को बाढीपहिरो, २०७२ सालको भूकम्प तथा २०५८ सालको दरबार हत्याकाण्डका बेला पनि मूर्तिमा पसिना आएको स्थानीयले स्मरण गर्ने गरेका छन्। १९९० सालदेखि नै यस्ता घटना पटक–पटक भएको दाबी गरिँदै आएको छ।
यसपटक मूर्तिमा पसिना देखिएपछि परम्पराअनुसार मूर्तिलाई स्नान गराई तान्त्रिक विधिबाट क्षमा पूजा गरिएको बताइएको छ।
पलाञ्चोक भगवतीको मन्दिर ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ। मन्दिर करिब एक हजार ६५५ वर्षअघि, अर्थात् इस्वी संवत् ४२५ मा निर्माण भएको जनविश्वास छ। पलाञ्चोक भगवतीलाई भगवतीकी जेठी दिदीका रूपमा समेत पूज्ने गरिन्छ।
स्थानीय किंवदन्तीअनुसार बुच्चाकोटमा रहेको पलाञ्चोक भगवतीको मूर्ति एक स्थानीय वृद्धको सपनामा प्रकट भएकी थिइन्। सपनामा आफूलाई त्यहाँबाट उत्तरतर्फ सार्न आग्रह गरेपछि मूर्ति हाल रहेको स्थानमा स्थापना गरिएको जनश्रुति छ।