पोखरा, ६ भदौ २०८३।
गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले बेवारिसे अवस्थामा पाँच थान भरुवा बन्दुक बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक अनिल श्रेष्ठको कमाण्डमा पाँच जनाको प्रहरी टोली शनिबार दिउँसो करिब १ बजे आरुघाट गाउँपालिका–७ चुरुङ सल्लेरीतर्फ गस्तीमा जाने क्रममा चिहानडाँडा नजिकैको जंगलमा सल्लाका हाँगाले छोपेर राखिएको अवस्थामा पाँच थान भरुवा बन्दुक बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय आरुघाटका अनुसार शनिबार दिउँसो करिब १ बजे विशेष प्रहरी गस्तीका क्रममा सल्लाका हाँगाले छोपेर राखिएको अवस्थामा ती बन्दुक फेला परेका हुन्।
इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक अनिल श्रेष्ठको कमाण्डमा पाँच जनाको प्रहरी टोली आरुघाट गाउँपालिका–७ चुरुङ सल्लेरीतर्फ गस्तीमा जाने क्रममा चिहानडाँडा नजिकैको जंगलमा पुगेको थियो। सोही क्रममा सल्लाका हाँगाले छोपेर राखिएको अवस्थामा बन्दुक देखिएपछि प्रहरीले बरामद गरेको जनाएको छ।
बरामद भएका पाँच थान बन्दुकमध्ये एउटा भाँचिएको अवस्थामा रहेको र चार थानमा खिया लागेको प्रहरीले जनाएको छ।
बरामद बन्दुकलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि प्रहरी कार्यालयमा राखिएको छ। जंगलमा बेवारिसे अवस्थामा बन्दुक फेला परेकाले ती कसले र किन त्यहाँ राखेका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हालसम्म घटनामा संलग्न भएको आशंकामा कसैलाई पक्राउ गरिएको छैन। बरामद बन्दुकसँग सम्बन्धित व्यक्तिको पहिचान तथा घटनाको थप विवरण पत्ता लगाउन अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय आरुघाटले जनाएको छ।