गोरखा ५ भदौ २०८३ ।
सामाजिक सञ्जाल फेसबुकमा भरुवा बन्दुकसहितको फोटो सार्वजनिक गरेको घटनामा गोरखा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बन्दुक धनी पालुङटार नगरपालिका–१ खोप्लाङ बस्ने ३२ वर्षीय कुमार बि.क र भीमसेन थापा गाउँपालिका–२ सुनारगाउँका ४४ वर्षीय प्रेम सुनार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार, प्रेम सुनारले आफ्नो फेसबुक आईडी ‘Prem Sunar’ मार्फत गत भदौ १ गते भरुवा बन्दुक लिएको फोटो सार्वजनिक गरेका थिए। उक्त घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाउने क्रममा भदौ ४ गते राति करिब ९ बजे सिरानचोक गाउँपालिका–६ नयाँसाँघुबाट प्रेम सुनारलाई भरुवा बन्दुकसहित फेला पारेको थियो।
प्रारम्भिक सोधपुछका क्रममा उक्त भरुवा बन्दुक पालुङटार नगरपालिका–१ खोप्लाङ बस्ने ३२ वर्षीय कुमार बि.क.को रहेको खुलेपछि प्रहरीले उनलाई समेत पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनामाथि गोरखा जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
प्रहरीले बरामद भएको भरुवा बन्दुकको स्रोत, स्वामित्व तथा उनीहरूले उक्त हतियार प्रयोग गरेको वा नगरेको विषयमा समेत अनुसन्धान अघि बढाएको जनाएको छ।
पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–२ सुनारगाउँका ४४ वर्षीय प्रेम सुनार र पालुङटार नगरपालिका–१ खोप्लाङका ३२ वर्षीय कुमार बि.क. रहेका छन्।