गरगहना सफा गर्ने बहानामा तौल घटाएर ठगी गर्ने चार भारतीय म्याग्दीमा पक्राउ

गरगहना सफा गर्ने बहानामा तौल घटाएर ठगी गर्ने चार भारतीय म्याग्दीमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ५ भाद्र २०८३
  • 988
    Shares

म्याग्दी, ५ भदौ २०८३।

गरगहना सफा गर्ने भन्दै विभिन्न रसायन प्रयोग गरी सुनचाँदीका गरगहनाको तौल घटाएर ठगी गरेको आरोपमा म्याग्दीमा चार जना भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मालिका गाउँपालिका–६, दरबाङ क्षेत्रमा गरगहना सफा गर्ने नाममा केमिकल प्रयोग गरी गरगहनाको तौल घटाएर ठगी भइरहेको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान तथा खोजी थालेको थियो।

सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दरबाङ, जिल्ला प्रहरी कार्यालय म्याग्दी तथा मातहतका प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी टोलीले २०८३ साल साउन ४ गते दिउँसो करिब २ बजे मालिका गाउँपालिका–६ दरबाङ तथा बाबियाचौर क्षेत्रबाट चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको बिहार प्रदेश, खगरिया जिल्लाका २९ वर्षीय विक्रम कुमार, ३२ वर्षीय सञ्जीत कुमार, ३५ वर्षीय राज कुमार साह र २९ वर्षीय सन्नी कुमार दास रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले सर्वसाधारणलाई गरगहना सफा गरिदिने भन्दै विभिन्न रसायन प्रयोग गर्ने र त्यस क्रममा गरगहनाको तौल घटाएर ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनीहरूविरुद्ध ठगीसम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको गतिविधि, ठगीको शैली, उनीहरूले प्रयोग गर्ने रसायन तथा अन्य सम्भावित घटनामा उनीहरूको संलग्नताबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ।

यसैबीच प्रहरीले सुन तथा अन्य गरगहना सफा गर्ने बहानामा अपरिचित व्यक्तिले विभिन्न रसायन प्रयोग गर्न खोजेमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। त्यस्ता शंकास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ। 

प्रतिक्रिया