पोखरा , ४ भदौ २०८३।
कैलालीमा दुई लाख रुपैयाँ घुस रकमसहित विद्यालय व्यवस्थापन समितिका एक सदस्य पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बम रहेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बिहीबार घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको हो।
अख्तियार महेन्द्रनगरका सूचना अधिकारी चेतराज भट्टका अनुसार बमले विद्यालयमा कार्यरत एक कर्मचारीको पारिश्रमिक वृद्धि गरिदिने प्रलोभन देखाउँदै रकम मागेका थिए।
सोही क्रममा दुई लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ।
पक्राउ परेका बममाथि थप सोधपुछ तथा घटनाबारे आवश्यक अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।