पोखराको विजयपुर खोलाले बगाएका अर्का बालक पनि तनहुँस्थित सेती नदीको किनारमा मृत भेटिए

पोखराको विजयपुर खोलाले बगाएका अर्का बालक पनि तनहुँस्थित सेती नदीको किनारमा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ भाद्र २०८३
  • 760
    Shares

पोखरा,  ३ भदौ २०८३ ।

पोखराको विजयपुर खोलाले बगाएर बेपत्ता भएका अर्का बालक पनि तनहुँस्थित सेती नदीको किनारमा मृत भेटिएका छन्।

गत साउन ३० गते दिउँसो पोखरा–१४ स्थित विजयपुर खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका बालक खोटाङ स्थायी घर भई पोखरा महानगरपालिका–१४ चाउथे बस्दै आएका १५ वर्षीय ओमन राई ६ दिनपछि आज तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुल्चोकस्थित सेती नदी किनारमा मृत भेटिएका हुन् ।

ओमनको शव उनकी आमाले पहिचान गरेकी र शबको पोस्टमार्टमका लागि पोखरास्थित पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शबगृहमा राखिएको प्रहरीले जानकारी दिएको छ। उनीसंगै त्यही खोलाले बगाएर बेपत्ता भएका एका बालक स्याङ्जाका १४ वर्षीय निक्सन गुरुङ पनि मृत भेटिएका थिए। दुवै बेपत्ता बालकको सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोलीले लगातार खोजी गर्दै आएको थियो।

ओमनसँगै बेपत्ता भएका निक्सनको शव भने भदौ २ गते नै फेला परेको थियो। घटनास्थलबाट करिब १.५ किलोमिटर तल गोरखा भिलेज पछाडि भत्किएको पर्खालमा अड्किएको अवस्थामा उनको शव भेटिएको थियो। सुरक्षाकर्मीले एक्साभेटर र डोरीको सहायताले शव बाहिर निकालेका थिए।

ओमनको खोजीका लागि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गणबाट सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको कमाण्डमा गोताखोर र रोप रेस्क्यु टोली परिचालन गरिएको थियो। खोजीका क्रममा विजयपुर खोलाका गहिरा खोँच तथा तीव्र पानीको बहाव चुनौती बनेको सुरक्षाकर्मीले बताएका छन्।

खोजी अभियानमा नेपाली सेनाको कृष्णदल गणका क्याप्टेन उमंग श्रेष्ठको नेतृत्वको टोली तथा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रराज पासवानको टोलीसमेत सहभागी थियो।

ओमनको शवसमेत फेला परेपछि विजयपुर खोलाले बगाएका दुवै बालकको खोजी अभियान टुंगिएको छ।

कास्कीको पोखरा महानगरपालिका–१४ ठुलीखोलास्थित विजयपुर खोलाले बगाएर बेपत्ता भएका १४ वर्षीय निक्सन गुरुङको शव तीन दिनपछि फेला परेको छ।

गत साउन ३० गते दिउँसो करिब १ः२० बजे विजयपुर खोला तर्ने क्रममा पोखरा–१४ छिनेडाँडा बस्ने चन्द्रबहादुर गुरुङका छोरा निक्सन गुरुङ र खोटाङ स्थायी घर भई चाउथे बस्ने १५ वर्षीय ओमन राईलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो।

बेपत्ता दुवै बालकको खोजीका लागि सशस्त्र प्रहरीको विपद् उद्धार टोलीले साउन ३० गतेदेखि निरन्तर खोजी गर्दै आएको थियो। खोजीका क्रममा भदौ २ गते स्थानीय बासिन्दाले घटनास्थलबाट करिब १.५ किलोमिटर तल गोरखा भिलेज पछाडिको भत्किएको पर्खालको रडभित्र शव देखिएको जानकारी प्रहरीलाई दिएका थिए।

सूचना पाएपछि नेपाली सेना कृष्णदल गण फुलबारी, जिल्ला प्रहरी कार्यालय कास्की र सशस्त्र प्रहरीको संयुक्त टोली उक्त स्थानमा पुगेको थियो। एक्साभेटरको सहायतामा दिउँसो २ः२६ बजे शव पानीबाट बाहिर निकालिएको सशस्त्र प्रहरीले जनाएको छ।

शव पोखरा–१४ छिनेडाँडा बस्ने १४ वर्षीय निक्सन गुरुङको भएको उनका आफन्तले पहिचान गरेका थिए। शवको मुचुल्का तयार गरी दिउँसो ३ः३० बजे पोस्टमार्टमका लागि पोखरा–१० रामघाटस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।

यसैबीच, निक्सनसँगै खोलाले बगाएर बेपत्ता भएका १५ वर्षीय ओमन राईको खोजी कार्यसमेत जारी रहेको थियो। ओमनको शव भने भदौ ३ गते साँझ तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुल्चोकस्थित सेती नदीको किनारमा फेला परेको थियो। उनकी आमाले शवको सनाखत गरेपछि पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको प्रहरीले जनाएको छ।

दुवै बालक विजयपुर खोलाले बगाएर बेपत्ता भएपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनासहितको टोलीले विभिन्न सम्भावित स्थानमा खोजी तथा उद्धार कार्य गर्दै आएको थियो।

प्रतिक्रिया