राष्ट्रपति पौडेलद्वारा भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

राष्ट्रपति पौडेलद्वारा भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ भाद्र २०८३
  • 1.9K
    Shares

पोखरा , १ भदौ २०८३।

भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतल निवासमा आयोजित विशेष समारोहबीच जनरल सेठलाई मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन्।

नेपाल र भारतबीच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ।

समारोहमा राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानसेनापति अशोकराज सिग्देल तथा नेपाली सेनाका उच्च अधिकारीहरूको सहभागिता थियो। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि समारोहमा उपस्थित थिए।

प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा तीनदिने नेपाल भ्रमणमा आएका जनरल सेठ आइतबार अपराह्न काठमाडौं आइपुगेका हुन्।

नेपाल भ्रमणका क्रममा उनले नेपाली सेनालाई सैनिक तथा स्वास्थ्य सामग्रीसमेत हस्तान्तरण गरेका छन्। जंगी अड्डामा आयोजित कार्यक्रममा उनले ती सामग्री नेपाली सेनालाई हस्तान्तरण गरेका हुन्। हस्तान्तरण गरिएका सैनिक तथा स्वास्थ्य सामग्रीको विस्तृत विवरण भने खुल्न बाँकी रहेको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिएका छन्।

यसअघि जनरल सेठले नेपाली सेनाको मुख्यालय जंगी अड्डा परिसरमा वृक्षारोपण गरेका थिए। उनले प्रधानसेनापति सिग्देलसँग जंगी अड्डामै शिष्टाचार भेटवार्ता गरेका थिए।

त्यसअघि उनले सैनिक मञ्च टुँडिखेल पुगेर वीर सहिदप्रति माल्यार्पण गरेका थिए। जंगी अड्डामा उनलाई नेपाली सेनाले गार्ड अफ अनरसमेत प्रदान गरेको थियो।

प्रतिक्रिया