रोल्पा, ३१ साउन २०८३।
अविरल वर्षापछि खसेको पहिरोले घर पुरिँदा रोल्पामा एक वृद्धाको मृत्यु भएको छ।
लुङ्ग्री गाउँपालिका–५, धैरेनीमा शनिबार राति पहिरो खस्दा स्थानीय ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो ।
प्रहरीका अनुसार गुरुङ घरभित्र सुतिरहेको अवस्थामा घरमाथिबाट अचानक पहिरो खसेर घर पुरिएको थियो। पहिरोमा पुरिएकी गुरुङको टाउकोको केही भाग मात्र देखिएको अवस्थामा उद्धार टोलीले फेला पारेको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे आइतबार बिहान करिब ३ बजे प्रहरी चौकी किलाचौरमा सूचना पुगेपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। त्यसपछि प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरोमा पुरिएको घरबाट शव निकाल्ने तथा उद्धार कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।
लगातारको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढेको भन्दै प्रहरीले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ।